वीरगञ्ज– पर्साको वीरगञ्जबाट स्रोत नखुलेको साढे ४१ लाख रुपैयाँसहित १ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति हुण्डी कारोबार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ८ बजेतिर नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर–५–एन ०२३८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँज गर्दा १ व्यक्तिलाई ४१ लाख ५५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको रक्सौल थाना– ११ बस्ने २५ वर्षीय राकेश कुमार छन्। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनले आफू सवार मोटरसाइकलको ट्याङ्की र सिटमुनि लुकाएर ४१ लाख ५५ हजार रुपैयाँ बोकेका थिए।
पक्राउ परेका कुमारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रल्हाद कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।