काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने टिप्पणी गरेका छन्। पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले एमाले जनमत नभएर पराजित भएको नभइ, आफ्नै कार्यकर्ताका कारण समस्या भएको दाबी गरे।
उनले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको भन्दै सत्ता गठबन्धनका नाममा पनि भइरहेकाले इमान्दारीका साथ निर्वाचनमा लाग्न आग्रह गरे। स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीको अवस्था कुनै पनि हालतमा हुन दिनु नहुने ओलीको भनाइ छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई लक्षित गर्दै ओलीले अर्काको भरमा केही सिट जित्नेहरुले एमाले नै समाप्त पार्छु भन्न नसुहाउने टिप्पणी गरे। स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै भोट एमालेले नै पाएको पनि ओलीले दाबी गरे।
उनले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रित भएर निर्वाचनमा खटिन नेता/कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष ओलीले आफूहरुले जनतालाई राम्रोसँग सम्झाउन नसकेको पनि उल्लेख गरे।
‘देशले समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गनुपर्ने छ,’ उनले भने, ‘यी काम अघि अगाडि बढाउने र देशको अर्थतन्त्र बाटोमा लाउनसक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट एमालले गर्नुपर्ने छ।’
एउटा वडा कमिटीमा ३९ जना सदस्य हुने, तर भोट २४ मात्रै किन आएको ? भन्दै ओलीले भने, 'अब त्यस्तो हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।