काठमाडौं– प्रतिनिधि सभाका सांसदले शेरबहादुर देउवा जतिपटक प्रधानमन्त्री बन्दा पनि उनको गृहप्रदेश सुदूरपश्चिमका जनताको जीवनमा कुनै फरक नपर्ने टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद नरबहादुर धामीले देउवाले सुदूरपश्चिमका जनताका लागि अहिले एउटा काम गर्ने अवसर रहेको, त्यो पनि नगरे उनी १० चोटी प्रधानमन्त्री बन्दा पनि त्यहाँका जनतालाई 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' भनेझैं हुने टिप्पणी गरे।
देउवाले अहिलेको अवस्थामा सुदूरपश्चिमका जनतालाई कैलालीको गेटामा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापना गरेर गुन लगाउनसक्ने धामीको भनाइ छ।
‘सुदूरपश्चिमका जनताको सपना गेटा मेडिकल विश्वविद्यालयको स्थापनाको लागि निर्णय गर्न किन सक्नु हुन्न प्रधानमन्त्री ज्यू? सुदूरपश्चिमका जनताको चाहाना र पवित्र सपनाको हत्या हुने हो र गेटा मेडिकल कलेजको स्थापना नहुने हो भने प्रधानमनी ज्यू, तपाईं १० चोटी प्रधानमन्त्री हुँदा पनि सुदुरपश्चिमका जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मत हुनेछ’, धामीले भने।
उमेरका हिसाबले जीवनको उत्तरार्धमा रहेका देउवाले ऐतिहासिक उपहारका रुपमा सुदूरपश्चिमका जनतालाई गेटा मेडिकल विश्वविद्यालय दिनसक्ने धामीको भनाइ छ। ‘जीवनको उत्तरार्धमा एउटा ऐतिहासिक उपहार गेटा मेडिकल विश्वविद्यालय सुदुरपश्चिमका जनताका नाममा सर्मपण गरेर जानु, तपाईंका लागि एक ऐतिहासीक कदम हुनेछ,’ धामीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।