काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले सीमा स्तम्भ गायब पारेको र नेपाली भूभाग अतिक्रमण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले कञ्चनपुरको पूर्नवास नगरपालिका ९ बीचफाँटमा वर्षौंदेखि पिल्लर १९६ ढलेको र हाल त्यस क्षेत्रमा नेपालीहरु जान नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद सुवालले उक्त पिल्लर वर्षौंदेखि भारत सरकारले गायब पारेर त्यसको पाँच किलोमिटर वर नेपाली भू–भागमा नक्कली पिल्लर खडा गरेको दाबी गरे।
उनले भारत सरकारले डुलुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको नेपालको भूभाग, माओवादी द्वन्द्वकालमा गायव पारेको स्थानीयको भनाइलाई उदृत गर्दै सरकारको ध्यानाकृष्ट गरेका छन्।
उनले दुई सय विगाह जमिन अतिक्रमण गरेको र पिल्लर १९५ समेत ढालेको बताए। नेपाली भू–भाग गड्डा चौकी, बर्मदेव लगायतका क्षेत्रको भूमि अतिक्रमण भएको उनको भनाइ छ।
सांसद सुवालले सरकारका अधिकारी र नेताहरु जति–जति भारत भ्रमणमा जान्छन्, त्यति नै भारतले जमिन अतिक्रमण बढाएको आरोप लगाए।
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीपत्नी आरजु राणा भारत भ्रमणमा रहेकै बखत भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै यसबारे माओवादी अध्यक्षलाई संसद्मा जवाफ दिन आवश्यक रहेको बताए।
साथै उनले स्रोतलाई उदृत गर्दै भारतको एउटा सुरक्षाको टोली युरेनियम खोजीका लागि नेपाल आएको र नेपालको सुरक्षालाई जानकारी नभएकाले यसबारे गृहमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।