काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र संघीयतालाई बलियो बनाएको बताएका छन्।
आयोग र आमनिर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोग) ले बुधबार आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले एकैदिन उत्साहजनक रुपमा ७१ प्रतिशतसम्म मतदान हुनुले निर्वाचनको सफलता मापन गर्न सकिने र प्रदेश सदस्य समेतले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिनुले स्थानीय तहको आकर्षण बढाएको उल्लेख गरे।
स्थानीय तहको कार्यकाल कहिलेसम्म भन्ने विवाद पनि आगामी निर्वाचनमा उत्पन्न नहुने जनाउँदै उनले निर्वाचन प्रणालीमा सुधारका लागि पर्यवेक्षक संस्थाले दिने वस्तुगत सुझावलाई कार्यान्वयन गरिने बताए।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्न पर्यवेक्षकले सहयोगी भूमिका निर्वाह गरेको भन्दै प्रमुख आयुक्त थपलियाले लैंगिक र समावेशिताका आधारमा पनि स्थानीय निर्वाचन सार्थक रहेको बताए।
उनले सो प्रतिवेदनले निर्वाचनको समग्र तस्बिर उतारेको र आयोगले स्थलगतरुपमा प्राप्त सुझावलाई मनन् गर्ने विश्वास व्यक्त गरे।
आयोगका अन्य आयुक्त, निर्वाचन पर्यवेक्षणका संस्थाहरु, विज्ञ र सरोकारवाला सम्मिलित कार्यक्रमको दोस्रो सत्रमा प्रतिवेदनका आधारमा निर्वाचन कानुन, पर्यवेक्षण व्यवस्था, आचारसंहिता, नागरिक समाज र आमसञ्चारमाध्यमको भूमिका, मतदाता शिक्षा आदिका आधारमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ। आयोगले यसअघि प्रादेशिक रुपमा स्थानीय तह निर्वाचनको समीक्षा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।