काठमाडौं— ‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरमा बस्न आउनुहोस्। म बस्ने वनस्थलीमा हो। त्यहाँबाट पाँच मिनेट मात्र मास्क नलगाइकन स्कुटरमा मेरो पछाडि चढेर हेर्नुहोस्। नत्र मै घुमाइदिउँला पूरै काठमाडौं, कति सास्ती हुन्छ बल्ल थाहा हुन्छ।’
नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई संसदीय विकास समितिको बैठकमा यसरी व्यंग्य गरेकी थिइन्। ओलीले एक सार्वजनिक कार्यक्रममा ‘काठमाडौंमा मास्क लगाउन नपर्ने गरी धुलो हटेको’ बताएपछि शाहीले यसरी जवाफ दिएकी थिइन्।
शाही २०७४ सालमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा समानुपातिक सांसद निर्वाचित भएकी हुन्। उनी प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सदस्य छिन्।
उनले सांसद् भएर काठमाडौं आएपछि मात्र स्कुटर कुदाउन सिकेकी हुन्। ‘सांसद भएर आएको एक महिनाभित्र नै स्कुटर चलाउन सिकेँ, जसले गर्दा सदनबाट निस्किएपछि अरु माननीयको गाडी पर्खनु परेको छैन। जता जाँदा पनि स्कुटर कुदाएर जान्छु, यो पनि मेरा लागि उपलब्धिमूलक रह्यो,’ उनले भनिन्।
स्कुटर कुदाउन थालेपछि उनले काठमाडौंको सडक र धुलोको समस्या झन् धेरै महसुस गरिन्। ती समस्या समाधानका लागि राज्यले पनि धेरै खर्च गरिरहेको छ। तर, हुम्लाका समस्या काठमाडौंले बुझ्नै नचाहेको उनको गुनासो छ। ‘हाम्रो समाज गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वासले निकै जकडिएको समाज छ। राज्यले योजना, कार्यक्रम र बजेटमा हुम्लालाई जहिले विभेद गरेको छ,’ उनी भन्छिन्।
सांसद शाही राजनीतिसँगै सामाजिक कार्यमा पनि सक्रिय थिइन्। त्यही कारण उनी संसद्मा राजनीतिकभन्दा सामाजिक र विकासका सवाल धेरै उठाउँछिन्। जनताका समस्या खरो ढंगमा प्रस्तुत गर्छिन्। शाहीले गएको असार १२ गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै हुम्लामा पाठ्यपुस्तक नपुगेको बताइन्। पटक पटक शिक्षा मन्त्रालयमा गएर पहल गर्दा पनि हुम्लाका लागि आंगिक क्याम्पस नदिएको भन्दै उनले प्रश्न गरिन्, ‘के कर्णालीमा वनमान्छे बस्छन्? सत्तापक्ष र प्रतिपक्ष दुवैले कर्णालीका जनता वनमान्छे हुन् भन्ने बुझाइको अन्त्य कहिले गर्ने?’
उनी हुम्ला र कर्णालीको समस्या सदनमा बारम्बार उठाइरहने सांसद् हुन्। २०७८ फागुन १४ गते प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले तत्कालीन प्रधानमन्त्री ओलीले हेलिकोप्टर चार्टर गरेर तेह्रथुम पुगेर केक काटेको घटनामा व्यंग्य गरेकी थिइन्। ‘प्रधानमन्त्रीले हेलिकोप्टर चढेर केक काट्न जाँदा कर्णालीमा जनता सिटामोल नपाएर मर्दैछन्,’ उनले भनेकी थिइन्।
२०७४ सालमा पहिलो पटक संसद् भवन छिर्दा उनीसँग जनताका समस्या समाधान गर्ने अठोट थियो। पहिलो वर्ष संसद्मा कसरी र के विषयमा बोल्ने भन्ने सिक्नमै बितेको उनी बताउँछिन्। आफ्नो कार्यकालको पाँच वर्ष पनि सोचजस्तो काम गर्न नसकेको उनी स्वीकार गर्छिन्। ‘पाँच वर्षसम्म सोच एकातिर र काम अर्कैतिर भएको महसुस भएको छ,’ उनले भनिन्।
संसद्मा उनको अनुभव एकनासको रहेन। कहिले प्रतिपक्ष त कहिले सत्तापक्ष भइन्। दुईपटक संसद् विघटन र पुनःस्थापना भयो।
उनको दल नेपाली कांग्रेस पहिला प्रमुख प्रतिपक्ष थियो। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याएको थियो। पछि यी दुई दल एकीकरण पनि भए। उनलाई पाँच वर्ष नै प्रतिपक्ष हुनुपर्ने अनुमान थियो। यहीबीचमा कोरोना महामारी, आर्थिक मन्दीजस्ता समस्या भोग्नु परेको उनी बताउँछिन्।
यही बेला प्रमुख प्रतिपक्ष हुन पुगेको एमालेले नौ महिनासम्म सदन अवरोध गर्दा जनताको सवाल उठाउनै नपाएको शाही बताउँछिन्। ‘जति दिन संसद चल्यो त्यतिसम्म गरेको काममा सन्तुष्ट नै छु। तर, सांसद नहुँदा जे अपेक्षा मनमा लागेको थियो त्यो पूरा गर्न भने नसकिदों रैछ,’ उनले भनिन्।
कर्णालीको दुर्गम जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका–४ मा उनको स्थायी बसोबास छ। उनले २०५४ सालमा विद्यार्थी जीवनबाट राजनीति प्रारम्भ गरिन्। २०६० सालमा नेपाल महिला संघको जिल्ला अध्यक्ष भइन्। २०७० सालमा महिला संघको केन्द्रीय सदस्य बनिन्।
उनको दल नेपाली कांग्रेस पहिला प्रमुख प्रतिपक्ष थियो। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याएको थियो। पछि यी दुई दल एकीकरण पनि भए। उनलाई पाँच वर्ष नै प्रतिपक्ष हुनुपर्ने अनुमान थियो।
उनी नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा प्रतिनिधि बनेकी थिईन्। १३औँ महाधिवेशनमा महासमिति सदस्य भएकी उनी १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भइन्।
उनी आफूलाई राजनीतिकर्मीभन्दा पनि विकास अभियन्ताका रूपमा चिनाउन चाहन्छिन्। समाजमा व्याप्त रहेको विभेद नहटाएसम्म समानुपातिक विकास हुन नसक्ने उनको बुझाइ छ।
देशका ७७ जिल्लामध्ये हुम्ला सबैभन्दा अन्तिममा सडक पुगेको जिल्ला हो। सदरमुकाम सडक सञ्जालमा जोडिए पनि दूरदराजका ग्रामीण भेगमा अझै सास्ती कायम रहेको उनको भनाइ छ।
कर्णाली करिडोर बनाउन सेनालाई जिम्मा दिनेबाहेक जिल्लाका लागि ठूला योजना केही नभएको शाही बताउँछिन्। उनी भन्छिन, ‘हामी दिने ठाउँमा छैनौँ, माग्ने ठाउँमा छौं। जुन दिन दिने ठाउँमा पुगिँदैन तबसम्म हुम्लालाई सिंहदरबारले सौतेनी व्यवहार गरिराख्छ।’ योजना, विकास र बजेट माग्दा हुम्ली सांसदले ‘भिख मागेजस्तै’ माग्नु पर्ने उनले गुनासो गरिन्।
संसद् बैठकमा पनि दुर्गमका सांसद्लाई विभेद गरिएको शाही बताउँछिन्। उनी भन्छिन्, ‘हुम्लाको माननीय भनेर होला एक वर्षसम्म कसैले मतलब नै गरेनन्। मलाई त शून्य समयमा मात्र बोल्न पाइन्छ भन्ने लागेको थियो। तर, त्यस्तो होइन रहेछ।’
संसदीय समितिमा आएपछि भने उनले जिल्लाका मुद्दा ढुक्कले उठाउन पाएकी छिन्। त्यहाँ बोल्न छेकबार छैन। संसद्मा भने विशेष समयमा प्रायः ‘ठूला नेता’ले मात्र बोल्न पाउँछन्। तर, शून्य समयलाई पनि आफूले उपयोग गरेको उनी बताउँछिन्।
चुनावका बेला जनतासँग गरेका वाचाका कारण पनि संसद्मा आफूले समस्याहरू उठाउने गरेको उनको भनाइ छ। संसद् कानुन बनाउने ठाउँ भए पनि भोट माग्दा भौतिक विकास गरिदिने प्रतिबद्धता जनाइएको हुन्छ। तर, सांसद् विकास गरिदिने भन्दा पनि गराइमाग्ने ठाउँ भएको बुझेपछि आफ्नो काम र आश्वासन फरक भएको उनले बुझिन्।
ठूला नेता भएका जिल्लामा मात्र बजेट हाल्ने समस्या रहेको शाही बताउँछिन्। ‘खानेपानी, स्वास्थ्य, शिक्षा, सडक निर्माण, रोजगारी र अन्य विकास निर्माणका काम जनताले सांसदबाटै हुन्छ भन्ने ठान्छन्,’ उनी भन्छिन्, ‘केन्द्रमा माथिल्लो तहमा आफना जिल्लाका कुनै पनि दलका नेता छैनन् भने बजेट नआउने रहेछ।’
जिल्लाबाट कोही व्यक्ति समस्या लिएर काठमाडौं आए उनीहरूसँगै हिँड्नु पर्ने बाध्यतासमेत दुर्गमका सांसदलाई भएको उनी बताउँछिन्। ‘हुम्लाबाट कोही बिरामी भएर वीर अस्पताल आउँदा पनि म आफैं जानुपर्ने अवस्था छ। नगए पालो आउँदैन, महिनौं दिन कुर्नपर्छ। हुम्लाको मान्छे महिनौं दिन राजधानी कसरी बस्न सक्छ?’ उनी भन्छिन्।
उनले यो समस्या पनि संसद्मा उठाएकी थिइन्। २०७८ जेठ २९ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले हुम्लाको मान्छे स्वास्थ्य मन्त्री नहुँदा वीर अस्पतालमा हुम्लीले पालो नपाएको भन्दै व्यंग्य गरेकी थिइन्।
यस श्रृङ्खलाका थप सामग्री
प्रतिनिधिसभामा ‘गर्जिरहने’ गजेन्द्र भन्छन्– भयो पुग्यो, अब सांसद बन्दिनँ
आशाकुमारीको पीडा : समानुपातिक भन्ने बित्तिकै नेताको आशीर्वाद बुझ्छन्
रोष्ट्रममा समिना हुसेन : एक कलम र एक किताबले संसार बदल्न सक्छ
प्रकाश स्नेही भन्छन्– एउटा निर्वाचनबाट तीन पटक सांसद् भइयो, समानुपातिकलाई बोल्नै समस्या
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।