काठमाडौं– श्रीलंकामा आज बुधबार राष्ट्रपति पदको निर्वाचन हुँदै छ। राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामापछि श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसद्मा चुनाव हुन लागेको हो। आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए।
राष्ट्रपति पदका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलस अलापेरुमा र वामपन्थी दल नेसनल पिपल्स पावर पार्टीका अनुरा कुमारा दसानायके दौडमा छन्।
सत्तारुढ दल एसएलपीपीले विक्रमासिंघेलाई उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा निर्वाचित हुने उनको सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नयाँ राष्ट्रपतिको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ। गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ। बुधबार हुने चुनावमा २२५ जना सांसदले भोट हाल्नेछन्। राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५० प्रतिशत अर्थात् ११३ सांसदको समर्थन आवश्यक हुनेछ।
श्रीलंकाली संसद्मा सत्तारुढ दल एसएलपीपीका १०० सांसद छन्। उसलाई यूएनपीको १ र ईपीडीपीका २ जना सांसदको समर्थन छ। त्यस्तै, प्रमुख प्रतिपक्षी दल समाजी जना बालावेगाया (एसजेबी) का ५४ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।