काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार मिल्नेहरुबीच एकता हुने बताएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुबीच भएको बैठकपछि अध्यक्ष प्रचण्डले विचार मिल्नेहरुसँगको एकताका विषयमा छलफल भएको बताएका हुन्।
मंगलबार नेकपा माओवादी केन्द्रको संसदीय कार्यालयमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच छलफल भएको थियो।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेकपाकालका बहुमत सचिवालय सदस्यहरुबीच छलफल भएको बताए। उनले गठबन्धनलाई कायम राख्ने, स्थानीय निर्वाचनको विषयलाई मध्यनजर गर्दै अझै जीवन्त राख्ने विषयमा छलफल भएको बताउँदै गठबन्धन बाहेक विचार मिल्नेहरुकाबीचमा एकता राख्ने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए।
'कांग्रेस, एमाले लगायतका दलहरुले गरेको निर्णयका बारेमा छलफल भयो' प्रचण्डले भने, 'गठबन्धनलाई कामय राखेर स्थानीय तह निर्वाचनको नजिजालाई ध्यानमा राख्दै अघि बढ्ने निर्णय भयो। यससँगै विचार मिल्नेसँग एकीकरण गर्ने विषयमा छलफल भएको छ।'
बैठकमा प्रचण्ड र माधव नेपालसहित झलनाथ खनाल, वामदेव र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए। बैठकमा तत्कालीन नेकपाको सचिवालयलाई व्युँताउने विषयमा पनि छलफल भएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।