काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाबाट हालै पदमुक्त गरिएका नेता डा बाबुराम भट्टराईबीचको भेट सकिएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेट भएको हो।
भेटपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले आफूहरुबीच राजनीतिक विषयमा कुराकानी भएको बताए। पत्रकारहरुले 'तपाईंहरु एक हुने हो?' भनेर सोधेको प्रश्नमा संक्षिप्त जवाफ दिँदै उनले भने- सकेसम्म एक हुने हो।
७ वर्षअघि माओवादी परित्याग गरेर नयाँ शक्ति गठन गरेका डा भट्टराई त्यसपछि एकता प्रक्रियामार्फत समाजवादी पार्टी र जसपाको संघीय परिषद् अध्यक्ष भइसकेका छन्। तर जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढ्दै गएपछि उनले केही समयअघिदेखि प्रचण्डसँग संवाद अघि बढाएका छन्। यसअघि २ नेताबीच उपराष्ट्रपति निवासमा छलफल भएको समाचार सार्वजनिक भएका थिए।
दुई नेताहरु एक ठाउँमा उभिनुपर्ने आवाज उठ्ने गरेको छ। प्रचण्डले पूर्वमाओवादी नेताहरु एक ठाउँमा आउनुपर्ने आशयको अभिव्यक्ति दिँदै आएका छन्। तर पार्टी छाड्ने बेलामा माओवादीलाई रातो स्टिकर टाँसिएको घरको संज्ञा दिएका भट्टराईले भने यसबारे खासै बोलेको पाइँदैन। तर, ७ वर्षयताका विभिन्न प्रयोगहरु असफल भइसकेको चर्चाबीच उनी माओवादीमा फर्किने वा वामपन्थीहरुलाई मिलाएर नयाँ पार्टी बनाउने आकलन हुँदै आएको छ। यसअघि उनले यथाकदा समाजवादी केन्द्रको आवश्यकता औंल्याउने गरेका छन्।
आजै बेलुका ४ बजे माधवकुमार नेपाल लगायतका वामपन्थी नेताहरुसँग पनि भेटघाट कार्यक्रम रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।