काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन्।
मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकार भित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन्।
उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताए।
मन्त्री राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एक/एक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने जानकारी दिए।
उनले सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेसिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्नसक्ने व्यवस्था गर्ने पनि बताए। तर, यो व्यवस्थाका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको उनको भनाइ छ।
दुई–तीन वर्षदेखि आवेदन दिएर स्मार्ट ड्राइभिङ लाइसेन्स कुरेर बस्ने सबैलाई ड्राइभिङ अनुमतिपत्र परीक्षामा पास भएको दिन वा दोस्रो दिन नै स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरिने उनको भनाइ छ।
मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। उनले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै छपाई हुनसक्ने संकेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।