काठमाडौं– विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पुनःस्थापनाको पक्षमा उभिएका छन्। आलोचना खेपेको उनको दस्तावेज 'विचारभन्दा माथि देश' पुस्तकको रुपमा आउने भएपछि त्यसबारे जानकारी दिन सम्प्रेषित प्रेस विज्ञप्तिमा उनी राजसंस्थाको पक्षमा उभिएका हुन्।
'उनले (मिश्रले) ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका छन्', विज्ञप्तिमा भनिएको छ।
यसअघि उनले सार्वजनिक गरेको सो दस्तावेजमा गणतन्त्र बाह्य प्रभावमा आएको बताएका थिए। र, गणतन्त्रमाथि खतरा रहेको मात्रै बताएका थिए। उनले गणतन्त्रका विविध पक्षहरुलाई सुधार गर्ने ठाउँ रहेको तर्क गरेका थिए। नसुधार्ने हो भने भोलि गणतन्त्रवादीहरूले नचाहाँदा नचाहँदै गणतन्त्र खारेजीको माग पनि बलियो भएर जानेछ भन्ने उनको भनाइ थियो।
'गणतन्त्र जोगाउने दुईवटा उपाय छन्। पहिलो, जनतालाई सक्दो छिटो भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा-प्रवाह (delivery) र विकासको अनुभूति दिने। दोस्रो, राष्ट्रपतिको संस्थालाई राजनीतिभन्दा माथि राखेर निष्पक्ष र वष्तुनिष्ठ रहन दिने। त्यति नगर्ने हो भने थाहै नपाई गणतन्त्र धरापमा पर्दै जानेछ। आमरूपमा क्रमिकरूपले बदलिँदै गएको जनभावनाको लहरलाई कुनै पनि पार्टीले रोक्न सक्दैन। यसबारे सबैलाई समयमैँ चेतना हुनु राम्रो', उनको भनाइ थियो।
पुस्तकका विषयमा जानकारी दिन प्रकाशित वक्तव्यमा विषयहरु विस्तृतमा त छैनन्। तर विज्ञप्तिको शीर्षकमै भनिएको छ - ‘विचारभन्दा माथि देश’ राजसंस्था, संघीयता खारेजी र हिन्दु-बौद्ध राष्ट्रको माग सहित पुस्तकका रूपमा आउँदै। यो जानकारीले पनि उनी यसअघिको दस्तावेजभन्दा पछाडि फर्किएको देखिन्छ।
दस्तावेजमा भने मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव प्रष्ट रुपमा अघि सारेका थिए। 'मेरो चिन्ता संघीयताको आर्थिक पाटोभन्दा पनि नेपालको हकमा संघीयताले राष्ट्रिय सुरक्षा तथा अखण्डतामा ल्याउन सक्ने खतरासँग जोडिएको छ', उनको भनाइ थियो।
त्यसैगरी उनले धर्म निरपेक्षताबारे जनमत संग्रह माग गरेका थिए।
उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।