काठमाडौं– सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले अर्थतन्त्रको वर्तमान अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई सुझाव दिएको छ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले अर्थतन्त्रको अहिलेको अवस्था, मुख्य समस्या, चुनौती र जोखिम न्यूनिकरण अपनाउन सकिने उपायसहित श्वेतपत्र जारी गर्न आग्रह गरेको हो।
'देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढंगले भय सिर्जना गर्ने काम भइरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था कस्तो छ, मुख्य समस्या कहाँ छ, चुनौतीहरु के छन्, जोखिम न्यूनिकरण गर्न के गर्न सकिन्छ लगायत विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ तथा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ,' कांग्रेको निर्णयमा भनिएको छ।
वर्तमान सरकारले संविधानलाई ट्रयाकमा ल्याएको उल्लेख गर्दै कांग्रेस बैठकले कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।