काठमाडौं– गत महिना सिनेमा हलमा ‘चिसो मान्छे’ रिलिज भयो। उक्त फिल्ममा कथा मात्रै नौलो नभएर, प्रस्तुत गरिएको भूगोल पनि नयाँ थियो। फिल्ममा बाजुराको भूगोल र भाषालाई प्रस्तुत गरिएको थियो।
ग्रामीण भूगोल र सुदूरपश्चिमको स्थानीय भाषा समेटेको फिल्मको केन्द्रमा महिला पात्र थिइन्। अभिनेत्री स्वस्तिमा खड्काले ‘पुष्पा’को भूमिका निभाएकी छिन्। फिल्मको कथाले मात्र नभइ उपकथाहरूले पनि महिला पात्रलाई महत्त्व दिएका छन्।
प्रायः नेपाली फिल्मका भाषा, भूगोल र पात्रमा ग्रामीण चित्रणको गहिराइ पाइँदैन। एकै धारमा अघि बढिरहेको फिल्म पछिल्ला केही दशक यता शहरका कथाहरूमा केन्द्रित छन्। नेपाली फिल्मलाई परिवर्तनको बाटो देखाएको श्रेय दिइने ‘लुट’ पनि शहरको कथामा केन्द्रित छ।
लुटपछि बनेका धेरै फिल्म शहरकै कथामा केन्द्रित भए। तर, अहिले भने कथाको भूगोल र भाषामा फरकपन आउन थाल्यो। ‘चिसो मान्छे’जस्तै हाल प्रदर्शनको संघारमा रहेका ‘प्रकाश’, ‘राधा’, ‘पानीफोटो’जस्ता फिल्महरूले फरक कथा र फरक प्रस्तुतिलाई समाएका छन्।
कस्ता छन् फिल्ममा देखाइएका ग्रामीण भूगोल?
‘चिसो मान्छे’ले प्रस्तुत गरेको कथामा बाजुराको भाषा र भूगोल आफैंमा ‘एउटा पात्र’ बनेको छ। निर्देशक दिपेन्द्र के खनालले बनाएको यो फिल्मको एउटा आकर्षण कथामा स्थानीयपन पनि हो।
नेपाली फिल्ममा प्रायः नदेखिने सुदूरपश्चिम र कर्णालीजस्ता भूगोल अब विस्तारै आउन थालेका छन्। सात वर्षअघि प्रदर्शनमा आएको मिन भाम निर्देशित फिल्म ‘कालो पोथी’मा पनि कर्णालीको भूगोललाई समेटिएको थियो। तर, व्यावसायिक रुपमा सिनेमा हलमा प्रदर्शनमा आएका फिल्ममा पश्चिम नेपालका ग्रामीण भेग देखाइएको थिएन।
आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ जुम्लामा खिचिएको छ। हालसम्म फिल्मको पोस्टर, टिजर र केही गीतहरू सार्वजनिक भइसक्दा फिल्मले राम्रो चर्चा पाइरहेको छ। जुम्लामा ४२ दिन लगाएर उक्त फिल्म खिचिएको निर्देशक राउतले बताएका छन्। फिल्ममा शिक्षक बन्नका लागि एक युवकले गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ।
त्यस्तै, सुरक्षा पन्त मुख्य भूमिकामा रहेको फिल्म ‘बुलाकी’पनि कर्णालीको भेगमा खिचिएको हो। आगामी कात्तिक १८ गते प्रदर्शनमा आउने भनिएको यो फिल्म जाजरकोटमा खिचिएको छ। ‘रेलको बाटो’ नामक चर्चित गीतको भिडियोसमेत निर्देशन गरेका लक्ष्मण सुनारले नै बुलाकीको निर्देशन गरेका छन्।
निर्देशक सुनार आफ्नै भेगको मौलिक कथा भन्ने क्रममा जाजरकोट पुगेको बताउँछन्। फिल्ममा उक्त क्षेत्रमा रहेको जारी प्रथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। जारी प्रथा मुख्यगरी पहाडी भेगमा रहने भएकाले पनि आफूले उक्त भूगोल रोजेको उनी बताउँछन्। ‘मैले पहिले नै यो भूगोलमा केही काम गरौँ भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘हामीले भन्ने कथा यही भूगोलसँग जोडिएको छ। मौलिक कथा भन्ने क्रममा यो भूगोलमा आधारित रहेर फिल्म बनाउन पुग्यौँ।’
गत वर्ष प्रदर्शनमा आएको मनोज पण्डित निर्देशित फिल्म ‘एक’मा मधेशकेन्द्रित कथा थियो। नेपाली फिल्ममा नगन्य मात्र आएको मधेशको भूगोललाई पण्डितले प्रस्तुत गरेका थिए। व्यावसायिक रुपमा फिल्मले सफलता प्राप्त गर्न नसके पनि फरक भूगोल र पात्रलाई प्रवेश भने गराएको छ।
फरक भूगोलको कथा फिल्ममा आइरहँदा निर्देशकहरु नेपालको मौलिक कथा भन्न यसो गरिएको बताउँछन्। ‘हामीले आफ्नो फिल्म बनाउन खोज्दा, आफ्नो भूगोल, आफ्नो कथा, आफ्नो पात्र लिएर काम गर्दा पश्चिम नेपाल पुगेका हौँ,’ ‘प्रकाश’का निर्देशक राउत भन्छन्, ‘प्रकाशका लागि पश्चिमकै भूगोल छान्नुमा त्यहाँको कष्टकर जीवन संघर्षसँगै अन्य विषयहरु पनि छन्। हाम्रो कथा केन्द्रित भूगोल त्यहीँ छ।’
कथामा वैकल्पिक स्वर
यो वर्ष वैकल्पिक कथावस्तु लिएर सुरुवातमा ‘चिसो मान्छे’ आयो। त्यसपछि ‘प्रकाश’, ‘दोख’, ‘पानीफोटो’, ‘बुलाकी’, ‘अभिन्न’, ‘राधा’, ‘जार’जस्ता फिल्म प्रदर्शनको तयारीमा छन्।
कलाकार खगेन्द्र लामिछानेले ‘पानीफोटो’मार्फत निर्देशनमा डेब्यु गर्दैछन्। यो फिल्ममा जनयुद्धका क्रममा बेपत्ता भएको छोराको खोजीमा संघर्ष गरिरहेका दम्पत्तीको कथा प्रस्तुत गरिएको छ। फरक–फरक भूगोलमा जनयुद्धमा भएका घटनाहरूलाई लिएर कथा निर्माण भएको फिल्म ‘दोख’मा द्वन्द्वको चित्रण छ।
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित भएर दार्जिलिङका फिल्मकर्मी फुर्वा लामाको निर्देशनमा बनेको फिल्म ‘जार’मा प्रेम र विद्रोहको कथा प्रस्तुत गरिएको छ। फिल्म निर्माण पक्षका अनुसार दोस्रो विवाह गर्ने विद्रोही महिलाको कथा फिल्ममा प्रस्तुत छ।
विगतमा सिनेमामा प्रस्तुत भइरहेका कथाभन्दा पनि सुक्ष्म विषय र फरक पात्रलाई लिएर धमाधम नेपाली फिल्म बनिरहेका छन्। सुक्ष्म विषयमाथि फिल्मकर्मीहरूले वृहत रुपमा कथा निर्माण गरेर सिनेमाको निर्माण गरिरहेका छन्।
सिनेमाको विषयवस्तु र प्रस्तुतीकरणमा हाल देखिएको परिवर्तन स्वागतयोग्य भए पनि ढिला गरी सुरु भएको निर्देशक सुनार बताउँछन्। विगतमा बलिउड र भारतका अन्य फिल्मबाट प्रभावित भएर नेपाली फिल्म बनाइँदा मौलिकपन हराएको उनको भनाइ छ। तर, अहिले आफ्नो कथालाई कसरी अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सक्छौं भन्ने विषयमा फिल्मकर्मीहरु केन्द्रित भएको उनी बताउँछन्।
‘हाम्रो समाज सुहाउने कथालाई कसरी भन्न सक्छौँ भन्ने विषयको खोजीले अहिले मौलिकपन आइरहेको छ,’ उनी भन्छन्, ‘यो पहिल्यै हुनुपर्ने थियो। त्यो भएको भए अहिले हामी यी परिवर्तनभन्दा केही माथि उठेर थप फरक कथाहरु भन्न थालेका हुन्थ्यौँ।’
निर्देशक राउत भने अहिले एकसाथ फरक कथावस्तु तथा भूगोल केन्द्रित फिल्महरू प्रदर्शनमा आउनु संयोग भएको बताउँछन्। कोरोना महामारीका कारण लामो समयसम्म फिल्म बन्न नसक्नु र बनेका फिल्म पनि प्रदर्शनमा आउन नपाउनुले अहिले एकै पटक फिल्मको बजार तातेको उनको भनाइ छ।
वैकल्पिक र फरक कथा लिएर फिल्म दीर्घकालसम्म कसरी बनिरहन सक्छन् भन्ने पक्ष महत्त्वपूर्ण रहेको राउत बताउँछन्। उनी भन्छन्, ‘फिल्महरुले व्यापारिक सफलता हासिल गरेर मात्रै यी विधा र यस्तो प्रस्तुतिका फिल्महरू स्थापित हुन्छन्। फिल्मकर्मीहरूको व्यक्तिगत कोसिस हो यो। तर, यो कोसिसले निरन्तरता पाउन व्यापारले महत्व राख्छ।’
निर्देशक सुनार पनि राउतको कुरामा सहमत छन्। फिल्ममा प्रस्तुत गरिने मौलिक र व्यवहारिक कथालाई बजारमा कसरी लैजाने भन्ने विषयमा पनि सोच्नु आवश्यक रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘फिल्म हलमा दर्शक गएपछि मनोरञ्जन चाहिन्छ। अहिले हामीले मौलिक कथालाई बजारमा कसरी लैजाने भन्ने हो। हामीले कथा खोजिरहँदा यसलाई कसरी बेच्ने भन्ने पनि सोच्नु पर्छ। मौलिक कथाबाट बन्ने फिल्मको व्यापार राम्रो भयो भने भोलिका दिनमा पनि बनिरहन्छन्।’
'कथामा परिवर्तन' सामाजिक टिप्पणी मात्र!
फिल्ममा फरक भूगोल र फरक कथाको प्रस्तुति सामाजिक टिप्पणीको रुपमा मात्रै बनिरहेको निर्देशक तथा फिल्म विश्लेषक मनोज पण्डित बताउँछन्। फिल्मकर्मीसँग सामाजिक दायित्व हुन्छ भन्ने प्रमाणित गर्न यस्ता काम गर्दा फिल्मकर्मीको फिल्म र फिल्मको भाषाप्रतिको जिम्मेवारी छायाँमा परेको उनी बताउँछन्।
‘समाज र दर्शक भन्ने कुरा फरक फरक हुन्,’ उनी भन्छन्, ‘फिल्मकर्मीको सामाजिक दायित्व छ भनिरहँदा दर्शकप्रति पनि दायित्व छ। दर्शकको मनोविज्ञानलाई वास्ता नगरी बनाइएका सामाजिक टिप्पणीकेन्द्रित फिल्महरू कमजोर हुन्छन्।’
यस्ता विषयले निरन्तरता पाए दर्शकमा केही समयपछि मौलिक फिल्मको नाममा वितृष्णा जाग्ने बताउँछन्। सबै फिल्ममा आफैंमा मौलिक हुन्छ भनेर स्वीकारेर काम गर्नुपर्ने पण्डित बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।