काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलेको विषय राष्ट्रिय सभामा उठाइएको छ।
गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाण नगर प्रमुख भएको ठाउँमा प्रहरीले जनप्रतिनिधिमाथि यस्तो दुर्व्यवहार गरेको भन्दै गृहमन्त्री खाणबाट जवाफ माग गरिएको छ।
वडाअध्यक्ष क्षेत्रीलाई पोखरीमा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीमाथि कारबाही माग गरिएको छ। नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले संसदमा बोल्दै उक्त माग गरेका हुन्।
उनले भने, 'भाइ मेयर भएको ठाउँमा प्रहरीले ज्यादति गरेको छ। त्यसबारे डिटेल रिपोर्ट पेस गर्नुपर्छ। त्यो डिएसपी कारबाही पर्छ कि पर्दैन? कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्र्याएर पानीमा चोबल्ने त्यो कारबाही पर्छ कि पर्दैन?'
खाणले कसरी अगाडि बढाउन खोजेको हो भन्दै उनले प्रश्न गरे।
आइतबार नगरसभा स्थगित गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बिरोध प्रदर्शन गरेका थिए। सोही क्रममा वडा अध्यक्ष क्षेत्रीलाई धकेल्दै प्रहरीले मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा फालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।