काठमाडौं– भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज सोमबार मतदान हुँदैछ। हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो।
सोमबार बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद् भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। २५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।
राष्ट्रपति पदका लागि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ।
मुर्मु झारखण्डको पूर्वराज्यपालसमेत हुन्। चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने छिन्। आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ।
यस्तै, उपराष्ट्रपतिका लागि विपक्षी कांग्रेसले मार्गरेट अल्वालाई उम्मेदवार बनाएको छ भने सत्तारुढ भाजपाले जगदीप धनखडलाई उम्मेदवार बनाएको छ।
राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था रहेको छ। मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा रहेको अवस्थामा भने उनीहरूलाई प्रक्रिया पूरा गरेर मतदान गर्न पाइने व्यवस्था छ।
राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि भारतको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।