काठमाडौं-उपसभामुख पुष्पा भुसालले आफूसँग उपलब्ध समय अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन्। आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले उपलब्ध समयमा आफूले इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने बताइन्।
'सदनलाई अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मलाई जति महिना समय छ। त्यो समय मेरा लागि अत्यन्त महत्त्वपूर्ण रहनेछ। प्राप्त भूमिका पनि त्यही अनुसार निर्वाह गर्नेछु', उनले भनिन्।
भुसालले आफूमा जिम्मेवारी बढेको महसुस गरेको बताइन्। 'संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिकालाई इमानदारीपूर्वक मैले आफ्नो कामकारबाही अगाडि बढाउनेछु', उनले भनिन्।
उपसभामुख भुसालले आइतबार पद तथा गोपनीयताको सपथ पनि लिइन्। उनले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सभामुखबाट सपथ लिएकी हुन्।
गत शुक्रबार प्रतिनिधि सभामा भएको निर्वाचनमा भुसाल उपसभामुखमा निर्वाचित भएकी थिइन्। उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा पक्षमा १४८ मत परेको थियो। मतदानमा २४२ सांसद उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।