तस्बिर : रासस।
पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको भविष्यका विषयमा बाहिर (विदेशमा) छलफल हुन थालेको भन्दै यसले वैदेशिक चलखेल निम्तिएको बताएका छन्। आइतबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
यसले नेपालको राजनीतिक मान्यतालाई खण्डित गरेको बताउँदै उनले भने, 'गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने पनि बाहिर गएर निर्क्योल हुन थालेको छ। यस्तो स्वार्थको सौदाबाजीले वैदेशिक चलखेल निम्त्याएको छ।'
सत्ता गठबन्धनका दुई घटकका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेसका केन्द्रीय सदस्य आरजु देउवा राणा भारत रहेकोतर्फ उनले संकेत गरेका हुन्।
'गठबन्धनलाई चुनावसम्म कायम राख्न सत्ता गठबन्धनका दुई घटकका नेताहरू बाहिर बसेर छलफल गर्दैछन्। यसले एउटा सार्वभौम मुलुकको राजनीतिक मान्यतालाई खण्डित गरेको छ,' उनले भने।
गठबन्धन सरकारका कारण नेपालको राजनीतिमा भूराजनीतिक द्वन्द्व बढ्न थालेको उनले बताएका छन्। 'विगतमा जे-जे विषयमा उनीहरु (माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु)ले विवाद सिर्जना गरे। आफैं भारी बोक्न बाध्य छन्। एमसीसीको विरोध गर्ने प्रचण्ड र नेपाल (माधवकुमार नेपालल)ले त्यसलाई पास गर्ने प्रक्रियाको नेतृत्व गरे,' पोखरेलले थपे।
नेपाल विश्वशक्तिको क्रिडास्थल बन्ने जोखिम बढ्दै गएको बताउँदै एसपीपी सम्झौताको ड्राफ्टले वर्तमान सरकारको अनुहार प्रष्ट पार्ने उनको भनाइ छ। प्रतिपक्ष दल र आमजनको खबरदारीले रोकिएको उल्लेख गर्दै सत्ता गठबन्धनले अझै अनुचित भनेर नभनेको बताए।
उनले भने, 'सरकार सरकार जस्तो छैन। संसद् संसद् जस्तो छैन। विश्वास उडेको छ। यसको कारण गठबन्धन सरकार हो। गठबन्धभन संकटको व्यवस्थापन हो। समृद्धिको आधार होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।