फाइल तस्बिर।
काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठनले आइतबार बालुवाटार घेर्ने भएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन्।
आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।
दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयमा प्रश्न उठेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले गर्भनर अधिकारीको राजीनामाको माग गरिरहेका छन्। गभर्नर एमालेको अर्थ विभागको सदस्य रहेको भन्दै सत्तारूढ दलका युवा विद्यार्थी संगठनहरु केही दिन यता आन्दोलित छ।
आइतबारको विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्नेछन्। यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ज्ञापनपत्र बुझाएको थियो।
गभर्नर अधिकारी एम. अधिकारीको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको चर्चापछि उनी विवादमा तानिएका छन्। यद्यपि गभर्नर स्वयंले यसलाई अस्वीकार गरेका छन्। उनले आफू कुनै दलमा नरहेको बताएका छन्। एमालेले पनि एम. अधिकारी गभर्नर नभएर अर्कै व्यक्ति भएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।