काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजो आफैं गुटको भेला गर्दै हिँड्नेहरुले अहिले अरुले गरेको भनेर आरोप लगाउन जरुरी नभएको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा थापाले यस्तो टिप्पणी गरेका हुन्।
निर्वाचित महामन्त्री भएर पार्टीभित्र कुरा नराखी बाहिर राख्ने अनि गुटको भेला होटलमा गर्ने भन्दै केही दिनदेखि केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको आलोचना गर्दै आएका थिए। त्यसको जवाफ शनिबार दुवै महामन्त्रीहरुले दिएका छन्।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा थापाले हिजो बुढानीलकण्ठ र चाक्सीबारीका गुट भेलामा को–को गएका थिए अहिले पनि गुगलमा हेर्न सकिने जवाफ दिएका थिए। उनले बुढानीलकण्ठमा ठूलो घर हुनेहरुले गुटको भेला त्यही राखेको र नहुनेहरुले होटलमा राखेको भन्दै जवाफ दिए।
‘पहिलेदेखि जो गुटको भेलामा गएका थिए, उनीहरूले विरोध गरेको सुनियो। हामी पार्टी बिगार्न यस्ता भेलामा गएका हैनौ ’ महामन्त्री थापाले भने, ‘पुरानो फोटो हेरेँ– बुढानीलकण्ठ, चाक्सीबारी को जान्थे? बोहराटार को जान्थे? पहिलेदेखि सबै जाने, हामी गएकोमा किन विरोध? अहिले पनि गुुगलमा गएर हेर्न सकिन्छ ।’
उनले अहिले सरकारले गर्ने निर्णय आफूहरुले सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु परेको र जवाफ पनि त्यही दिएको दाबी गरे। उनले विगतमा अरुलाई सरकार कसरी चलाउन पर्छ हामी देखाइदिन्छौं भनेर आलोचना गरेको तर अहिले सरकारको बचाउ नै गर्न नसक्ने अवस्थामा रहेको पनि बताए। थापाले विगतमा भनेका त्यही कुरालाई लिएर अहिले आफूहरु आलोचनाको पात्र भइरहेको भन्दै सरकारले गरेका कामहरुका विषयमा किन विवाद भइरहेको छ भनि प्रश्न गरे।
उनले महाधिवेशन भएको ६ महिनासम्म पनि विभाग गठन नभएको र नीति महाधिवेशन किन नभएको भनि प्रश्न गरे। आफूहरु पनि निर्वाचित महामन्त्री भएकाले पार्टी सभापति र उपसभापतिहरुले गरेको निर्णयमा तालीमात्र बजाएर नबस्ने उनको भनाइ थियो।
शनिबारै बैठकमा अर्का महामन्त्री शर्माले आफूहरूले पार्टी हितका लागि नै काम गरिरहेको तर्क गरे। ‘हामीले के बेठिक गर्यौं?’ उनले भने, ‘सभापतिलाई पार्टी विभाग बनाऔँ, भातृसंस्था बनाऔँ भन्दा के बेठिक भयो र?’
उनले पार्टी सभापतिलाई खुसी पार्ने नाममा अनावश्यक गाली र आरोप लगाउने कार्य नगर्नसमेत आग्रह गरे। नीति महाधिवेशन र विभागहरु गठनको कार्य तत्काल गर्न पनि उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।