फाइल तस्बिर
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले दिएको भनिएको दिव्योपदेश २०२५ पुस २७ बाट आएको दाबी गरेका छन्। उनले यस विषयमा चर्चा गर्नेहरुलाई कुन ग्रन्थबाट दिव्योपदेश पढ्न थालेको भन्दै प्रश्न समेत गरेका छन्।
शनिबार नेपाल-चीन हिमालय मैत्री समाजद्वारा आयोजित 'नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो विषयक विचार गोष्ठी' कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने-'पृथ्वीनारायण शाहले दिव्योपदेश कसलाई दिएको हो? कहिले दिएको हो? कस्तो अवस्थामा दिएको हो? त्यो दिएको भए उसैबेलादेखि आयो कि २०२५ साल पुस २७ गतेबाट आयो? २०२५ पुस २७ गते दिव्योपदेश आयो।'
पृथ्वीनारायण शाहको दिव्योपदेशको आधिकारिकतालाई लिएर यसअघि पनि प्रश्न उठ्ने गरेका थिए। दिव्योपदेशका सन्दर्भ र दिव्योपदेश दिइएको भनिएको बेलाका कतिपय सन्दर्भ मेल नखाने भएकाले पृथ्वीनारायणको नाममा महेन्द्रले दिव्योपदेश लेखाएको आशंका गरिन्छ। ओलीले आफ्नो दाबीमा पनि सोही आशंका अभिव्यक्त गरेका छन्।
'चलाख सन्तान भयो भने, शासक सन्तान भयो भने यस्ता कुराहरु निस्किन सक्दछन्। उत्पत्ति हुन्छन्। त्यो बेग्लै कुरा हो। दिव्योपदेश आउँदा म पनि १७ वर्षको भइसकेको थिएँ', ओलीले भने।
उनले नेपालको परराष्ट्र नीतिको कुरा चल्दा अथवा असंलग्न आन्दोलनको शिखर सम्मेलन हुँदा यदुनाथ खनालहरुले असंलग्न आन्दोलनसम्बन्धी सिद्धान्तहरु तय गर्दा दिव्योपदेशको चर्चा कति ठाउँमा छ? कहाँ कहाँ छ? भन्दै प्रश्न गरे। उनले थपे, 'त्यतिखेर दिव्योपदेश जन्मिएकै थिएन। १९५५ देखि १९६१ सम्मका कुरा गर्ने हो भने।'
ओलीले पृथ्वीनारायण शाहले एकीकरण गरेर योगदान गरेको भन्दै प्रशंसा गर्न छुटाएनन्। 'एकीकरणको नेतृत्व गरेको हो। एकीकरण आवश्यक थियो। एकीकरण सकारात्मक कुरा हो। र पृथ्वीनारायण शाहलाई हामी एकीकरणको नायकका रुपमा प्रशंसा गर्छौँ', दिव्योपदेशको सन्दर्भ जोड्दै उनले भने, 'तर, ओरिजिलन बुट्टा कुन थियो, त्यसमा थप रङ कसले भर्यो? रङ भरेको कुराचाहिँ अलिकति हेर्नुपर्छ? दिव्योपदेश मृत्युशय्यामा भएको मान्छेले आरामसँग दिव्योपदेश भनेर, मर्नुभन्दा पहिले दिएको कि पछि?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।