काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन्।
पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन्।
नेपाल–चीन हिमालयनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अवको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे।
अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भएपनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको उल्लेख गरे।
‘कुनै पनि मुलुकले आफ्नो विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई तय गर्दा भूराजनीति, आफ्नो छरछिमेकप्रति पर्ने असरलाई ध्यान दिएरै गर्नुपर्छ। त्यसैले सायद ध्यान दिएर नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र कसैको विरुद्ध आफ्नो भूमिलाई प्रयोग हुन नदिने कार्यलाई निकै अप्ठ्यारो अवस्थामा पनि निरन्तरता दिँदै आएको छ’, यादवले भने, 'भूराजनीति असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूल्ठूला दूर्घटनाहरु भएका छन्। अहिले हामीले हेरिरहेको युक्रेन र रसियाको वार जियोपोलिटिक्सकै महत्त्वपूर्ण प्रभावले हो। अफगानिस्तान वा श्रीलंकामा अहिलेदेखि पहिले भएका उथलपुथलहरु भूराजनीतिकै प्रभाव हो।’
यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। दुई ठूला छिमेकी मुलुक भारत र चीनले सो सम्बन्धमा तटस्थताको नीति लिएको बेला नेपालले भने युक्रेनको पक्ष लिएर गल्ती गरेको उनको भनाइ छ।
मुलुकको सार्वभौमिकताको रक्षा गर्न पनि भूराजनीतिले प्रभाव पार्ने भएकाले त्यसमा सचेत भएर अघि बढनुपर्ने अध्यक्ष यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।