काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रीय सदस्य तथा दुई जना मधेश प्रदेश सदस्य एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले स्वागत गरे।
एमालेमा प्रवेश गर्नेहरूमा जसपा संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्रकुमार झा तथा मधेश प्रदेश सदस्य ममता मिश्र पाठक र विमला भट्टराई छन्।
त्यसअवसरमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि एमालेलाई बलियो शक्तिका रुपमा विकास गर्न नवप्रवेशीहरुको भूमिका महत्वपूर्ण हुने बताए। उनले भने, ‘हाम्रो पार्टीप्रति मधेशमा हिजो घृणा भाव थियो तर एमाले के हो भन्ने त्यहाँका जनताले बुझेपछि आज त्यो घृणा समर्थनमा बदलिएको छ।’
उनले मधेशमा अहिले एमालेप्रति व्यापक जनलहर चलिरहेकाले आगामी निर्वाचनमा मधेशमा एमालेको बहुमतलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।
मिश्रले जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णता र एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।