काठमाडौं– नेकपा एमालेका सांसद भीम रावलले सत्ताको कतिपय खेल मिलाउनुपर्ने भएकाले अहिले उपसभामुख निर्वाचन गराइएको टिप्पणी गरेका छन्।
लामो समय रिक्त राखेर अहिले उपसभामुख चयन हुनुलाई उनले सत्ता गठबन्धनको रणनीतिको संज्ञा दिए। सत्ता गठबन्धनलाई अहिले आवश्यक परेकाले उपसभामुख चयन गरिएको रावलले टिप्पणी गरे।
‘आम निर्वाचनमा जाने समय हुँदै गर्दा उपसभामुख चयन भएको छ,’ उनले भने, ‘सत्ताको भित्रि खेल मिलाउनुपर्ने भएका कारण भइहालेको देखिन्छ।’
शुक्रबार प्रतिनिधि सभामा भएको निर्वाचनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भइन्। गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा तथा अर्को दल लोकतान्त्रिक समाजवादीको समर्थन भुसाललाई रहेको थियो।
दस्तखतसहितको मतदानमा भुसालले १४८ मत पाएकी थिइन्। प्रतिनिधि सभाको बहुमत मत पाएसँगै भुसाल उपसभामुख निर्वाचित भएकी हुन्।
मतदानमा २४२ सांसदहरु उपस्थित थिए। भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ९३ मत परेको थियो। प्रस्तावमा मत दिन्न भन्ने विकल्पमा १ मत परेको थियो।
भुसाल निर्वाचित भएसँगै नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गरिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।