काठमाडौं– उपसभामुख चयनका लागि प्रतिनिधि सभाका लागि मतदान प्रक्रिया सुरु भएको छ। प्रतिनिधि सभामा उम्मेदवारीको प्रस्ताव तथा छलफलपछि हस्ताक्षरसहितको मतदान सुरु भएको हो।
संसद् बैठकमा दलहरुले उपसभामुखका उम्मेदवारप्रतिको समर्थन खुलाएका छन्। दलका तर्फबाट छलफलमा भाग लिने सांसदहरुले आफ्नो भनाइका साथै पार्टीको निर्णय सुनाएका हुन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा हाल २७१ सांसद रहेका छन्। जसमा नेकपा एमालेका ९८ जना रहेका छन्। उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले एमालेलाई समर्थन गरेका छन्। सबै सांसद उपस्थित भएको अवस्थामा एमालेकी विद्या भट्टराईले ९९ मत पाउने देखिन्छ।
त्यस्तै, सत्तारुढ पाँच दल नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९, नेकपा समाजवादीका २३, जनता समाजवादीका १९ तथा राष्ट्रिय जनमोर्चाका १ गरी जम्मा १५५ जना रहेका छन्। त्यसबाहेक महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १३ सांसदले पनि गठबन्धनकै उम्मेदवार भुसाललाई मतदान गर्ने निर्णय गरेका छन्।
कांग्रेसकी उम्मेदवार पुष्पा भुसालको पक्षमा १६७ मत पर्ने अवस्था देखिएको छ। यस्तो अवस्थामा उनले उपसभामुख जित्ने सम्भवना छ। नेपाल मजदुर किसान किसान पार्टीले भने कसैलाई मत नदिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।