काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाका विषयमा पनि छलफल भएको छ।
माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले गभर्नरलाई राजीनामा दिन लगाउनुपर्ने सुझाव प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका छन्।
बैठकमा सहभागी कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार माओवादी केन्द्रले विषय उठान गरेपछि प्रधानमन्त्री देउवाले विषयको गाम्भीर्यताका विषयमा कुरा गरेका थिए।
बैठकमा श्रेष्ठले भनेका थिए, 'गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको कुरा आइरहेको छ। उहाँलाई सरकारले राजीनामा गराउनुपर्छ।'
श्रेष्ठले विषय उठान गरेपछि प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गरेका थिए, 'विषय गम्भीर नै हो?' प्रधानमन्त्री देउवाको प्रतिप्रश्नपछि भने यसमा थप छलफल नभएको प्रवक्ता महतले बताएका छन्।
एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा 'एम अधिकारी– खोटाङ'को नाम उल्लेख छ। एम अधिकारी नै महाप्रसाद अधिकारी रहेको बताउँदै उनको आलोचना भइरहेको छ।
पार्टीको सदस्य गभर्नर हुन नपाउने भन्दै संसदमा पनि राजीनामाको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।