

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले सचेत भएर सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सदस्यहरुले पार्टीले नेतृत्व गरेको गठबन्धन लोकतान्त्रिक मूल्य, मान्यता एवं विधिको शासनका लागि भएकाले यसको निरन्तरता दिँदा सचेत हुनुपर्ने सुझाव राखेका हुन्।
बैठकमा बोल्ने सदस्यहरुले भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्णता, नेपाल राष्ट्र बैंकका गभर्नर प्रकरणलगायतका विषयमा विचार राखेका थिए।
असार २७ गतेदेखि सुरु भएको बैठकमा बिहीबार केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुनीलबहादुर थापा, बलबहादुर केसी, डा नारायण खड्का, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, मिनाक्षी झा, सुजाता परियार, चिनकाजी श्रेष्ठ, ध्यानगोविन्द रञ्जित, रमा कोइराला (पौडेल), अर्जुनजङ्गबहादुर सिंह, उमेश श्रेष्ठ, मञ्जुकुमारी यादव, जानकी सिंह, सुशीला भट्ट मिश्र, गङ्गालक्ष्मी अवाल, सीताकुमारी राना र सुशीला ढकाल (आचार्य) ले धारणा राखेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
केन्द्रीय कार्यसमितिको अर्को बैठक असार ३२ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।