काठमाडौं–तत्कालीन अर्थमन्त्री जनार्दन शर्माद्वारा करको दायरा परिवर्तनमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा सत्यतथ्य छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न प्रस्ताव गरेका थिए।
उक्त समितिमा विश्वकर्मालाई राख्ने सहमति भएको छ। भुसाल प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनेपछि उनको ठाउँमा विश्वकर्मालाई राखिएको हो।
बिहीबार नै सांसद भुसालले प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन्।
आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै गत असार २२ गते छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको थियो। उक्त समितिमा एमालेका ४ सहित ११ जना सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।