काठमाडौं– नेकपा एमालेले गठबन्धन बाहेकका अन्य उम्मेदवार हेरेर उपसभामुखको उम्मेदवारको बारेमा निर्णय गर्ने भएको छ। एमाले संसदीय दलका उपनेता सुबास नेम्बाङले गठबन्धन बाहेकबाट को उम्मेदवार बन्छ, त्यो हेरेर आफूहरुले निर्णय लिने बताए।
‘अन्य कोही उम्मेदवारलाई समर्थन पनि गर्न सकिन्छ। त्यो उम्मेदवार हेरेर हुन्छ। नभए हामीले पार्टीबाट नै उम्मेदवार तय गर्छौं,’ उनले भने, ‘त्यस विषयमा छलफल भइरहेको छ।’
एमालेका अर्का एक नेताका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ।
उपसभामुख पदका लागि आज बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो साढे १ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने भएकाले पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भनेर एमाले शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
यस्तै, नेकपा एमालेले भोलि (शुक्रबार)को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएको छ। नेम्बाङका अनुसार शुक्रबारको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने भएकाले बैठकमा उपस्थित हुन सबै सांसदलाई निर्देशन दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।