काठमाडौं– प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दिन कांग्रेस नेतृ तथा सांसद पुष्पा भुसाल सिंहदरबार पुगेकी छन्। प्रतिनिधिसभा सचिवालयले बुधबार जारी गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म उपसभामुखका उम्मेदवारको मनोनय गर्नुपर्नेछ। शुक्रबार हुने निर्वाचनका लागि बिहीबार नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
उम्मेदवारी दिनका लागि आफू सिंहदरबार पुगिसकेको भुसालले बताइन्। गठबन्धन दलहरुसँग बैठक बसेर केहीबेरमा उम्मेदवारी दिने उनले जानकारी दिएककी छिन्।
शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ। एमाले सांसद डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनादेखि पद रिक्त छ। डा तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन्।
कांग्रेस सचेतक समेत रहेकी भुसाललाई सत्ता गठबन्धनले उपसभामुखको उम्मेदवार बनाउन लागेको हो। भुसाललाई यसअघि पनि उपसभामुखको उम्मेदवार बनाइएको थियो, तर नेकपा एमालेकी तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।
उपसभामुखको निर्वाचनमा तुम्बाहाङ्फेले २०१ मत र भुसालले जम्मा ५८ मत प्राप्त गरेकी थिइन्। अहिले भने सत्ता गठबन्धनको बहुमत छ, र भुसाल निर्वाचित हुने लगभग तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।