काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई तेस्रो पटक सभापतिमा उठ्न बाध्य नबनाउन चेतावनी दिएका छन्। बुधबारको बैठकमा सहभागी सदस्यहरुले सत्ता गठबन्धनको भर परेर पार्टीलाई कमजोर बनाउन नहुने भनी पटक–पटक आलोचना गरेपछि रिसाउँदै देउवाले यस्तो चेतावनी दिएका हुन्।
सांसद सञ्जय गौतमले उठाएको प्रश्नको जवाफ दिँदै देउवाले तेस्रो पटक सभापति हुन विधान संशोधन गराउन सक्ने जवाफ दिए।
‘मलाई नजिस्क्याउनुस् यस्तै हो भने म विधान संशोधन गरेर फेरि सभापति उठ्छु,’ देउवाले भने, ‘गठबन्धन गर्ने हो। एक्लै बहुमत ल्याउन गाह्रो छ।' एक केन्द्रीय सदस्यका अनुसार देउवाले एक्लै कुनै पनि अवस्थामा निर्वाचनमा गएर बहुमत नआउने भन्दै गठबन्धनको विरोध नगर्न आग्रह गरे।
‘फेरि सभापति हुन मलाई रहर छैन, तर तपाईंहरूले जिस्क्याउनुभो भने फेरि उठ्न सक्छु,' उनले भने। देउवाले पार्टीबाट आफूले सन्यास लिने भएकाले काम गर्न आग्रह गर्दै पार्टी अफिसभन्दा बाहिर होटलहरुमा कार्यक्रम नगर्न पनि निर्देशन दिए।
बुधबारको बैठकमा देउवानिकट नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गर्दै सार्वजनिक सञ्चार माध्यममा नभई पार्टीभित्र छलफल गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।