काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा हालै जारी अन्तरपार्टी निर्देशनमा पार्टीको अर्थ तथा योजना विभागमा एक सदस्य देखिए- एम अधिकारी- खोटाङ। सो व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको चर्चा चलिरहेको छ। सो विषयले बुधबारको प्रतिनिधि सभा बैठकमा पनि चर्चा पायो।
प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्र र कांग्रेस सांसदले एम अधिकारीलाई महाप्रसाद अधिकारीकै रुपमा प्रस्तुत गर्दै विरोध जनाएका हुन्। सभामुखसँग विशेष समय लिएर बोलेकी माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रश्न गरिन्, ‘गभर्नर जस्तो व्यक्ति प्रचलित कानुन विपरीत कुनै पनि दलको विभागको सदस्यको रुपमा रहँदाखेर उहाँले यो देशको नीति पालना गर्नुहुन्छ कि प्रतिपक्षको नीति पालना गर्नुहुन्छ?’
प्रचलित कानुन, नियमावलीले राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरमा नियुक्त हुनाका लागि कुनै पनि दलमा आबद्ध हुन नहुने व्यवस्था गरेको विषय शर्माले संसद् बैठकमा स्मरण गराइन्। 'हाम्रो प्रचलित कानुन, नियमावलीले राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरमा नियुक्त हुनाका लागि कुनै पनि दलमा आबद्ध हुन नहुने व्यवस्था छ। त्यो व्यवस्थाको विपरीत नियुक्त गर्ने र हुने प्रयास भयो। यो कानुन विपरीत छ। ऐन विपरीत छ। नियमावली विपरीत छ', शर्माको भनाइ थियो।
शर्माले सार्वजनिक भएका विषयमा गम्भीर ढंगले छानबिन गर्न र दोषीमाथि कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइन्।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्माको विषयलाई पनि माओवादी केन्द्रका सांसदले यही सन्दर्भमा जोडेका थिए। माओवादी सांसद् अमृता थापाले भनिन्, 'यसपालिको बजेट चकलेट खानुभन्दा दूध पिउनु र कस्मेटिक दल्नुभन्दा कृषि उत्पादनतिर केन्द्रित भएर आएकाले ठीकै होला भन्ने लाग्दै गर्दा पुलपुलिएको छोराले 'नाइ मलाई त्यही केटी चाहिन्छ' भन्ने प्रतिपक्षको हठ अर्थमन्त्रीको हकमा पनि देखियो। अर्थ संकटको नेतृत्व गर्नुपर्ने अर्थमन्त्रीको राजीनामापछि वित्तीय अनुशासन लागू गर्ने बेलामा राष्ट्र बैंक ऐन विपरीत आज पत्रपत्रिकामा आएझैं कुनै अमुक पार्टीको सदस्य राष्ट्र बैंकको गभर्नर भएको भए तुरुन्त छानबिन गरी संविधान कानुनको रक्षा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।'




माओवादी केन्द्रकै सांसद गजेन्द्र महतले एमाले अध्यक्ष केपी शर्मा ओली र महाप्रसाद अधिकारी दुवैको नाम लिएनन्, तर दुवैलाई जोडेर व्यंग्यमिश्रित सम्बोधन गरे। 'मलाई शंका लागिरहेकै थियो। एकजना बार्दलीबाट 'यो देशलाई श्रीलंका बनाइदिऊँ?' भन्ने थिए। एकजना ढुकुटीमाथि बसेर म पनि 'यो देशलाई श्रीलंका बनाइदिऊँ?' भन्दै थिए। यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो मलाई। नभन्दै यिनीहरु बा र छोरा रहेछन्', महतले भने।
उनले यी (ढुकुटीमा बस्ने व्यक्ति) आफूलाई बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्ने गरेको बताए। 'नभन्दै यी हनुमान पनि रहेछन्। किनभने द्वापर युगमा यिनले श्रीलंका जलाएका थिए। अहिले पनि श्रीलंका जलिरहेकै छ। नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ, यी हनुमानले। हिजोआज जलाउन खोजिरहेका छन्। यिनलाई बाँधेर राख्नुपर्यो। सरकारलाई भन्नुपर्यो, यिनलाई बाँधेर राख्नुस्। नत्र यिनले नेपाल जलाउँछन्', महतले भने।
कांग्रेस सांसद गगन थापा पनि यही लहरमा उभिए। थापाले मूलतः आगामी मौद्रिक नीति कस्तो हुनुपर्ने सुझाव दिएका थिए। तर, सम्बोधनको अन्तिममा अधिकारीमाथि व्यंग्य मिसाए। उनको भनाइ थियो, 'मैले गरेको यो सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो। नेपाल कम्युनिस्ट पार्टी एमालेका अर्थ तथा योजना विभागका सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर उहाँले बुझ्नुभएमा क्षमा चाहन्छु।'
सत्ता पक्षकै सांसदबाट एकोहोरो प्रहार भइरहेपछि एमालेका सांसद कृष्णभक्त पोखरेल बचाउमा उत्रिए। पोखरेलले अर्थ मन्त्रालयको अक्षमता लुकाउन र विषयान्तर गर्न 'एम अधिकारी'को प्रसंग ल्याइएको बताए।
'एम अधिकारी भन्ने व्यक्ति नेकपा एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भने सत्ता पक्षका सांसदहरुले अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि विषयान्तर गरी मनोगत भावना राखेको देख्दा आफैंलाई दयाभाव जागिरहेको छ', पोखरेलको भनाइ थियो।
स्वयं गभर्नर महाप्रसादले आफू कुनै पार्टीमा छैन भन्ने वक्तव्य दिइसकेको विषयलाई संसद्मा प्रश्न उठाउन नमिल्ने पोखरेलको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।