काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तबीच भेटघाट भएको छ।
बुधबार सिंहदरबारमा भएको भेटमा संवैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। करिब एक घण्टाजति भएको छलफलमा मधेशी आयोगका अध्यक्ष दत्तले संवैधानिक निकायलाई प्रभावकारी बनाउन राष्ट्रिय सभा र अन्तर्गतका सरोकारवाला समितिको पहल प्रभावकारी हुनुपर्ने बताए।
उनले संवैधानिक निकायलाई प्रभावकारी बनाउन संवैधानिक निकायका तर्फबाट सरकारलाई उचित सल्लाह, सुझाव तथा निर्देशन दिन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई अनुरोध गरे।
आफू वा आयोगको जानकारीबिना नै कर्मचारी सरुवा गर्ने, आयोगको भौतिक पूर्वाधार अभाव, मधेशी समुदायलाई सशक्तिकरण गर्न तथा अन्य महत्वपूर्ण जिम्मेवारी बोकेको तथा संविधानले बनाएको आयोगलाई न्यून बजेट दिने, आयोगलाई भौतिक पूर्वाधारको अभाव, न्यून जनशक्ति जस्ता समस्याहरुले आयोगले आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउनबाट वञ्चित गरेको गुनासो व्यक्त गरे।
उनले राष्ट्रिय सभा वा प्रतिनिधि सभा अन्तर्गत संवैधानिक निकायसँग सरोकार राख्ने समितिहरुले समेत प्रतिवेदनमाथि विगत २ वर्ष देखि आफूहरुसँग छलफल नगरेको बताए। छलफलका क्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुले सरकारलाई गलत कदम नचाल्न घच्घच्याउने काम गर्नुपर्ने बताएका छन्।
सरकारले संबैधानिक आयोगहरु माथि नियन्त्रण नगर्नुपर्ने र आयोगहरुलाई पूर्ण प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्थापन, जनशक्ति को पदपूर्ति र सिफारिसहरुको पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने र त्यसमा आयोगलाई राष्ट्रिय सभा र अन्तर्गतका समितिहरुलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
सो छलफलमा आयोगका अध्यक्ष डा दत्तले मधेशी आयोगले तयार पारेको मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७९ अध्यक्ष तिमिल्सिनालाई प्रदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।