काठमाडौं- प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन्। उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो १ बजे हुनेछ।
त्यसअघि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। त्यस्तै, बिहीबार १:३० बजे दर्ता भएका उम्मेदवारिको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ।
शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा 'प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने' कार्यसूची छ।
प्रतिनिधि सभाको तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ।
संविधानअनुसार सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरकफरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।