काठमाडौं- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गरी कारबाही गर्न संसद्मा माग गरिएको छ।
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर अधिकारी नेकपा एमालेको योजना तथा अर्थ विभागका सदस्य रहेको भन्दै कारबाही माग गरेकी हुन्।
उनले भनिन्, 'नेकपा एमालेको उक्त विभागमा एम अधिकारी खोटाङ भन्ने व्यक्ति राष्ट्र बैंकका गभर्नर भनिएको छ। ऐन, नियम विपरीत नियुक्त हुने र गर्ने व्यक्तिमाथि कारबाही गर्नुपर्छ। देशको अर्थतन्त्र सम्हाल्नुपर्ने व्यक्ति पार्टीको सदस्य रहेको कुरालाई गम्भीर ढंगले छानबिन गरियोस् र कारबाही गरियोस्।'
उनले एकातिर अर्थतन्त्र ध्वस्त हुँदै गएको आरोप लागेर कसैलाई अपराधि घोषित गरिएको र अर्कातिर गभर्नर नै प्रतिपक्ष दलको सदस्य भएको देखिएको भन्दै उनले प्रश्न उठाइन्।
'दलको सदस्य भएपछि दलीय अनुशासन लाग्छ। दलका योजना पालना गर्नुपर्ने हुन्छ। कुनैपनि दलको विभागीय सदस्य रहँदा देशको सरकारको नीति पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ?,' उनको प्रश्न छ।
हाल प्रचलित नियम र कानुनअनुसार राष्ट्र बैंकको गभर्नर दलको सदस्य हुन नपाउने उनको भनाइ छ। सोही कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।