काठमाडौं– लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि बुधबार दिन र समय तोकिने भएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनका लागि समय र दिन (कार्यतालिका) तोक्न लागेका हुन्।
बुधबार बस्ने प्रतिनिधि सभा बैठकको दैनिक कार्यसूचीमा उक्त विषय परेको छ।
दैनिक कार्यसूचीको दोस्रो नम्बरमा भनिएको छ, 'सम्माननीय सभामुखले उपसभामुखको निर्वाचनका लागि प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ बमोजिम दिन र समय तोक्नुहुनेछ।'
बुधबारको बैठकमा नागरिकता विधेयक पेस गर्ने कार्यतालिका पनि छ। केही दिन अगाडि सरकारले फिर्ता लिएको विधेयक बुधबार फेरि पेस गर्न लागिएको हो।
पहिले राज्य व्यवस्था समितिमा छलफल समेत भइसकेको विधेयक फिर्ता लिएर सरकारले केही संशोधनसहित नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो।
रेल्वे विधेयक, औषधि विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी विधेयकमा समेत बुधबारको प्रतिनिधि सभा बैठकमा छलफल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।