काठमाडौं– नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकारको एक वर्ष पूर्णत: असफल रहेको टिप्पणी गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै उनले सरकार पूर्णत: असफल रहेको बताए।
गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारकाबीच राज्य संचालनका न्यूनतम विधि, मूल्य र मान्यतामाथि खिल्ली उडाउनेगरी बितेको उनको भनाइ छ।
'राष्ट्रिय स्वाधिनता र आत्मसम्मान कमजोर बन्यो। राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो। सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गर्यो। न किसानले समयमा मल पाए न विद्यार्थीले पढ्ने पुस्तक', विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन गैरजिम्मेदार बन्यो। समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो।'
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको बुधबार एक वर्ष भएको छ। अघिल्लो वर्ष सर्वोच्च अदालतको असार २८ गतेको परमादेशपछि देउवा २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।