काठमाडौं– आज बुधबार प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ।
बुधबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने छन्।
यस्तै, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने संसद्को कार्यसूची छ।
‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूची छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भवानी प्रसाद खापुङले ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।