काठमाडौं- विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकै दिन छुट्टाछुट्टै बैठक भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवपक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ भने पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक मंगलबारनै काठमाडौंमा भएको छ ।
पार्टी रूपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार विषयमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले राष्ट्रिय पार्टी बनाउने उद्देश्यले सामूहिक नेतृत्वको कुरा गर्दै आफूलाई नेतृत्व खोजेको आरोप लागेको गुनासो गरेका छन्।
पार्टीलाई हिमाल, पहाड तराई सबै जातिको प्रतिनिधित्व गराउन सामूहिक नेतृत्व बनाउनुपर्ने भट्टराईको जोड थियो। पार्टीमा तीन जनाको हेडक्वार्टर बनाउँदासमेत एउटा पनि बैठक बस्न नसकेको, केन्द्रीय समिति बैठकमा आफूहरुलाई नबोलाइएको भट्टराईको गुनासो छ।
विसं २०७६ वैशाख २३ गते तत्कालीन संघीइ समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो।
विसं २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टीसँग समाजवादी पार्टीको एकता भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो। भट्टराई पक्षको बैठक बुधबारसम्म चल्नेछ।
उता अध्यक्ष यादव पक्षले पनि बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।