काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गरेकी हुन्।
साेही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्णप्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गरिन्।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्दै उनका विचारलाई प्रेरणाको रुपमा लिएर देशको समृद्धिका लागि अगाडी बढ्नुपर्ने बताए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार बर्सनि प्रदान गर्दै आएको बताए।
राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान गरेका राजनीतिक व्यक्तित्वहरुको दुरदर्शी विचार, मार्गनिर्देशन, त्याग र सङ्घर्षलाई सम्मान गर्नुपर्ने मन्त्री श्रेष्ठकाे भनाइ थियाे।
मुलुकको प्रगतिशील राजनीतिक परिर्वतन, नेपाली राजनीतिक आन्दोलनको इतिहासको अध्ययन-अनुसन्धान र साहित्य र संस्कृतका क्षेत्रमा पुरस्कृत स्रष्टाहरुले गरेकाे योगदानको पनि उनले प्रशंसा गरे।
नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखन कार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनहरुको इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीनजना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम आर्थिक वर्ष २०६८/६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ। पुरस्कारहरूको राशी सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।