काठमाडौं– जसपाको विस्तारित बैठकको नेतृत्व गरेका डा बाबुराम भट्टराईले पार्टीको मूल पंक्ति आफूहरुसँगै भएको बताएका छन्। उनी पक्षले काठमाडौंको जडिबुटीमा आयोजना गरेको बैठकमा सम्बोधन गर्दै भट्टराईले संख्यामा पनि आफूहरुको बहुमत पुग्ने दाबी गरे।
'संघ, प्रदेश र स्थानीय तहसम्मका नेताहरुको मूल पंक्ति अहिले हामीसँग छ। यो बैठकमा कति संख्या छ भन्ने भोलि निरुपण हुँदै जाला। मलाई विश्वास छ, संख्याको बहुमत पनि हामीसँग छ', उनले भने।
भट्टराईले जसपाले अंगाल्दै आएको संघीयता, सुशासन, समृद्धि र समाजवादका आधारतत्वको परिभाषा आफूहरुले गरेको पनि बताए। 'त्यो आधार तत्वलाई बोक्ने, यो पार्टीलाई स्थापना गराउने, फूटको बेलामा पनि जोगाएर यहाँसम्म ल्याउने श्रेय हामीलाई छ। ती मानिसहरु हामी यहाँ छौँ', उनले भने।
उनले आफूहरुको बैठकलाई कसैले यो बैठक अवैध भन्छ भने इतिहासलाई बंग्याउने काम गर्ने बताए। केही अघि भट्टराई पक्षले बोलाएको बैठकलाई उपेन्द्र यादव पक्षका नेता प्रकाश अधिकारीले अवैध भनेका थिए।
भट्टराईले जसपा भनेको देशमा एउटा वैकल्पिक शक्तिको रुपमा आफूहरुले स्थापना गरेको पार्टी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।