काठमाडौं– जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले आफूहरु पार्टीभित्रै लड्ने तर विभाजन नगर्ने बताएका छन्। डा बाबुराम भट्टराई पक्षको विस्तारित बैठकमा सम्बोधन गर्दै उनले पार्टीभित्र आफ्नो कुरा राख्न नपाएपछि विस्तारित बैठक बोलाउनुपरेको बताए।
‘हामी फुटेर होइन, जुटेर यो ठाउँमा आइपुगेका हौं। यो पार्टीको नाममा रहेको जनता शब्द पूर्वराजपाको हो। छाता छाप पनि राजपाको हो। यो पार्टीमा समान अधिकार छ। यो पार्टीभित्र लडिन्छ, फुट्न दिइँदैन। यो हो हाम्रो अभियान’, उनले भने।
यादवले आफूहरुको अभियानमा साथ दिन आग्रह गरे। ‘हामीलाई बोल्न नदिने, बैठकमा नबोलाउने? हामीलाई आफ्नो आवाज बुलन्द हुन नदिने भएपछि हामीले बोल्न कहाँ जाने? त्यसैले यो थलो बनाएको हो। त्यसैले साथीहरुलाई बोलाएर आफ्नो कुरा राख्न खोजेका हौं। हाम्रो परिस्थिति यो हो। यहाँबाट समाधान भएन भने हामी देशभर यही अभियान लिएर जान्छौं’, उनले भने।
उनले जसपा सबैको साझा फूलबारी बनोस् भन्ने आफूहरुको चाहना रहेको बताए। उनले लोकतान्त्रिक विधि प्रक्रिया र सबैलाई समेट्ने वैकल्पिक शक्ति निर्माण गर्ने सोच र चिन्तनका कारण जसपा गठन गरिएको बताए।
उनले पार्टीमा बोल्ने वातावरण बन्नुपर्ने बताए। तर उपेन्द्र यादव पक्षले बहुमतको निर्णय नमानेको, बैठक नराखेको लगायतका विषय उठाउँदै आफूहरुको चित्त दुखेको उनको भनाइ छ।
उनले दुवै पक्षले पार्टी हित विपरीत काम गर्न नहुने बताए। आफूहरुले पनि पार्टी हित विपरीत काम गर्न नहुने भन्दै उपेन्द्र यादव पक्षले पनि गर्न नहुने बताए।
‘पार्टीलाई अन्तिम समयसम्म जोगाउँछौं। सास रहुञ्जेल जोगाउँछौं। तर हामीले जोगाएर मात्रै जोगिँदैन। उहाँ (उपेन्द्र यादव) पक्षले पनि जोगाउनुपर्छ’, उनले भने।
पार्टीभित्र विवाद बढिहरेको बेलामा उपेन्द्र यादव पक्षले मंगलबार र बुधबार वीरगंजमा केन्द्रीय कार्यकारिणी समिति बोलाएका थिए। भट्टराई पक्षले पनि समानान्तर समयमा काठमाडौंको जडिबुटीमा केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।