काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षको केन्द्रीय समतिको विस्तारित बैठक काठमाडौंको जडिबुटीमा जारी छ। बैठकमा सम्बोधन गर्दै कार्यकारिणी सदस्य महेन्द्र राय यादवले बैठक बोलाउन आफूहरूलाई विवश बनाइएको बताए।
‘विस्तारित बैठक किन बोलाउनुपर्यो? हामीले यसको औचित्य पुष्टि गर्नुपर्छ’, उनले भने, ‘हामीले त्यसै बोलाएको होइन। कुनै रहर थिएन। तर हामीलाई विवश बनाइयो। परिस्थिति त्यस्तो निर्माण भयो। देश दुनियाँ र साथीहरुलाई आफ्नो कुरा बताउन यो बैठक बोलाइएको हो।’
उनले डा भट्टराईको त्यागले जसपा गठन भएको बताए। पूर्वप्रधानमन्त्री समेत रहेको र माओवादी जनयुद्धको वैचारिक नेता भट्टराईले आफू चौथो बरियतामा बसेर पार्टी दर्ता गर्न तयार भएकै कारण निर्वाचन आयोगमा जसपा दर्ता हुन सकेको बताए।
उनले तत्कालीन समाजवादी पार्टी विभाजनको स्थितिमा पुगेको बेलामा राजपाले साथ दिएकाले पार्टी एकता भएको र समाजवादी पनि फुटबाट जोगिएको स्मरण गरे। ‘जसपा सबै आन्दोलनको संगालो हो’, उनले भने।
पार्टीभित्र विवाद बढिहरेको बेलामा उपेन्द्र यादव पक्षले मंगलबार र बुधबार वीरगंजमा केन्द्रीय कार्यकारिणी समिति बोलाएका थिए। भट्टराई पक्षले पनि समानान्तर समयमा काठमाडौंको जडिबुटीमा केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।