काठमाडौं– नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ। आगामी साउन १ गतेदेखि लागू हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ।
यसअघि कोषले यसै कार्यक्रमका तीन लाख भन्दा बढी सहभागीहरुलाई यही असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो। त्यसैगरी, कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ।
यस्तो प्रतिफल यही असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने छ। उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ।
यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।