काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग जस्तो विषयमा गम्भीर खेलबाड गर्ने काम भएको बताएका छन्।
सोमबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘महाअभियोग अदालतलाई प्रेसरमा राख्नका लागि लगाइन्छ। पहिले सुशिला कार्कीलाई पनि लगाइएको थियो,’ उनले भने, ‘महाअभियोगको प्रस्ताव राख्नुभएको छ। संख्या कति छ थाहा छ। प्रस्ताव राखेर ५ महिना पूरा हुँदा महाअभियोग सम्बन्धी केही गर्नुभएको छैन। समिति बनाउने भन्नुभयो। हामीले पनि नाम दियौं केही भएको छैन।’
सर्वोच्च अदालतका प्रधानन्यायाधीश माथि लागेको महाअभियोगको विषयमा अहिलेसम्म केही नगर्नु भनेको प्रतिशोध र पूर्वाग्रहपूर्ण भएको उनको भनाइ छ। ‘उहाँ पनि परमादेश जारी गर्दा फरक मत नराखि कन हस्ताक्षर गर्ने मानिस हो। मैले व्यक्तिका विषयमा भन्दा पनि व्यवस्थाका विषयमा कुरा राखेको हुँ। पूर्वाग्राह राख्नु पनि हुँदैन। अदालतको गरिमा बढोस् भन्ने हामी चाहन्छौं,’ ओलीले भने।
महाअभियोग लगाएर हटाउनु छ भने हटाए हुने भन्दै उनले तिगडम, जालझेल र राज्यका अङ्गलाई निष्प्रभावी बनाउने काम भएको बताए। ‘गैर जिम्मेवार तरिकासँग हाम्रो असहमति छ। हामीले नारावाजी लगाइरहे पनि संसद् त खुरुखुरु अगाडि बढ्ने काम भएको नै हो। सम्मानित सर्वोच्च अदालत जस्तो संस्था र प्रमुख व्यक्तिको सम्बन्धमा महाअभियोग जस्तो विषयमा गम्भीर खेलबाड गर्नुहुँदैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।