काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साचो डिभोर्स गर्नका लागि नक्कली बिहे गर्न एमालेले हतार नगर्ने टिप्पणी गरेका छन्।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
सञ्चारकर्मीहरुले गठबन्धनका विषयमा राखेको धारणाको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
‘यदी गठबन्धन जस्तो पनि बनाए ठान्ने भए अहिलेको गठबन्धन उहिले टुटिसक्थ्यो। एमालेलाई गठबन्धनको हेराफेरी वा सरकारको हेराफेरी भन्ने नै होइन। सुशासन ल्याउने कुरा हो,’ उनले भने, ‘गठबन्धन बनाएर र चलाएर हेरेको छु। गठबन्धनका लागि गठबन्धन अथवा संख्यात्मक फेरबदल ल्याउन सक्छ भन्ने कुरा होइन फेरि, उही कुरा दोहोर्याउने गरी होइन। साचो डिभोर्स गर्नका लागि नक्कली बिहे गर्न हतार एमालेले गर्दैन।’
उनले गठबन्धन कति फलदायी हुन्छ भन्ने कुरा त अहिलेको सरकार जनताबाट घृणाको पात्र बनिरहेकोबाट पुष्टि भएको बताए।
‘सरकार पपुलर हुन सकेन भने अदालतबाट होइन जनताले नै हटाउदा रहेछन् भन्ने श्रीलंकाबाट देखिन्छ,’ उनले भने, ‘भ्रष्टाचार, महंगी लगायतका विषयमा एमाले सडकमा जान नसक्ने होइन। विचार गरेर मात्रै चल्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।