काठमाडौं– नेकपा एमालेकी सांसद बिमला विकले राज्यको व्यबहार होस्टेल वार्डेन जस्तो नभएर आमा जस्तो हुनु पर्ने बताएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद विकले राज्यले आमाको जस्तै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताइन्।
‘राज्य भनेको होस्टेल वार्डेन जस्तो हुनुहुन्न। ८ बजे आयो भने भित्र छिर्न पाईन्छ, त्योभन्दा पछि आयो भने बाटैमा सुत कि बाघले खाओस् कि कतै जाओस्, राज्य त आमा जस्तो हुनुपर्छ राति १ बजे ढोकामा लात्ता हाने पनि ढोका खोल्नुहुन्छ। राज्य त अभिवावक जस्तो हुनुपर्छ,’ विकले भनिन्।
यौन हिंसासँग सम्बन्धित मुद्दाको हदम्यादका विषयमा विकले अहसमति जनाइन्। ‘एकातिर बलत्कारलाई गम्भीर अपराध भनेका छौं। अर्कोतिर यति दिनमा आयौ भने उजुरी हुन्छ, आएनौ भने अपराध हुन्न भन्न मिल्छ?’ विकले भनिन्।
करिब ८ वर्ष अगाडिको एक बलत्कारसम्बन्धी घटना सार्वजनिक भएपछि नेपालको मौजुदा कानुनले बलत्कारको उजुरीसम्बन्धी हदम्यादको व्यवस्थामा सवाल उठेपछि हदम्याद खारेजी वा समय बढाउने विषयमा बहस भइरहेको छ।
सरकारले हदम्यादलाई बढाएर २ वर्ष बनाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।