काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजी) नियुक्ति विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सकेर फैसला गर्ने मिति तोकिएको सुनुवाइको पेसी सार्न सरकारी पक्षले निवेदन दिएको छ।
धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आज सोमबारलाई पेसी तोकिएको थियो। आज, रिट निवेदक एआईजी पोखरेलका कानुन व्यवसायीले जवाफी बहस गर्ने तय थियो।
तर, सरकारी पक्षले बहसमा सहभागी हुन नसक्ने भन्दै निवेदन दिएपछि अर्को सुनुवाइ शुक्रबारका लागि सारिएको छ।
सोमबार कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासमा पेसी रहेको थियो। मुद्दाको पेसी असार २६ गते आइतबारका लागि तोकिएकोमा आइतबार सार्वजनिक बिदा भएपछि सोमबार सरेको थियो। तर, सोमबार पनि सरकारी पक्षले बहसमा सहभागी हुन नसक्ने भन्दै निवेदन दिएपछि शुक्रबारलाई पेसी सरेको हो।
सोमबार मुद्दाको बहसका लागि पोखरेलका कानुन व्यवसायी इजलासमा उपस्थित भएका थिए। तर, सरकारी पक्ष र आईजी सिंहका कानुन व्यवसायी उपस्थित भएको नदेखिएपछि पोखरेल पक्षका कानुन व्यवसायीले जवाफ बहस सुरु गरेका थिएनन्। त्यही बीचमा सरकारी पक्ष र सिंहका निजी कानुन व्यवसायीले पेसी सार्न आग्रह गर्दै इजलासमा निवेदन दिएका थिए।
सरकारी वकिल बिरामी भएका कारण इजलासमा उपस्थित हुन नसक्ने कारण देखाउँदै मुद्दाको पेसी सार्न निवेदनमा आग्रह गरिएको छ।
आफूभन्दा झन्डै डेढ वर्ष जुनियर सिंहलाई आईजी नियुक्त गरेर सरकारले आफूमाथि अन्याय गरेको दाबी गर्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। पोखरेलको रिटमाथि विगत केही दिनदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ।
साउनदेखि अनिवार्य पोखरेल अनिवार्य अवकासमा जाने भएकाले त्यसअघि नै मुद्दाको टुंगो लगाउनुपर्ने उनी पक्षका कानुन व्यवसायीको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।