काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनु पर्ने बताएका छन्।
आफ्नै पार्टीबाट प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले राष्ट्रिय सभामा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा गलत भएको कुरा देउवाको पालामा पनि गलत हुने शर्माको भनाइ छ।
सामाजिक सञ्जालमा शर्माले लेखेका छन् 'ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी!' उनले संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनु पर्ने बताउँदै प्रधानमन्त्रीले कसरी यस्तो गरे भन्दै प्रश्न गरेका छन्। उनले यस्तो कार्यका लागि कसले सल्लाह दिन्छ भन्दै प्रश्नसमेत गरेका छन्। यसमा प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी रहेको उनको भनाइ छ।
'संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दु:खद छ। प्रधानमन्त्री शेरबहादुर देउवाको को गम्भीर जवाफदेहीता जरुरी छ।'
केपी शर्मा ओलीले २०७७ मंसिर ३० गते ल्याएको अध्यादेशसँग मेल खाने गरि सरकारले अध्यादेश राष्ट्रिय सभामा दर्ता गराएको थियो। विधेयकमा देउवाले आफूसहित ३ जनाको उपस्थिति भएमा बैठकको कोरम पुग्ने र सिफारिस समेत गर्न सक्ने व्यवस्था राख्दै संघीय संसद्को माथिल्लो सदनमा पेस गराएका थिए।
प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।