काठमाडौं- सरकारले नागरिकता सम्बन्धी विधेयक संसद् सचिवलायमा दर्ता गराएको छ। सरकारले यसअघि प्रतिनिधि सभामा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको थियो।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक फिर्ता लिनका लागि प्रस्ताव पेस गरेका थिए।
सत्तापक्षको बहुमतले उक्त विधेयक फिर्ता लिइएको थियो। सरकारको उक्त प्रस्ताव प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरेको थियो। एमालेकै बिरोधका बीचमा उक्त विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गरेको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए। २०७५ साउन २२ गते प्रतिनिधि सभाको सचिवालयमा दर्ता भएको विधेयक चार वर्ष छलफलपछि फिर्ता भएको थियो।
उक्त विधेयक नेकपा एमालेले संसद्को राज्य व्यवस्था समितिबाट बहुमतले पारित गरेको थियो भने नेपाली कांग्रेस लगायतले फरक मत राखेका थिए। योसँगै यो विधेयकको अवस्था शून्य भएको थियो।
विधेयक फिर्ता लिए लगत्तै शुक्रबार नै मन्त्रिपरिषद् बैठकले पुन: दर्ता गराउने निर्णय गरेको थियो। उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दलका शीर्ष नेताहरुसँग छलफलमा रहेका छन्।
आइतबार उनीहरुले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेटेका थिए। उनीहरुले सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेर छलफल गरिहेका छन्।
सरकारले यही अधिवेशनमा उक्त विधेयक पारित गराउने तयारी गरेको छ। आगमी मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउनुपर्ने भएकाले निर्वाचनको मिति घोषणा अघि नै उक्त विधेयकमा पारित गराउने गरि सत्ता पक्षले छलफल थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।