काठमाडौं– नेकपा एमाले नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेमा भएको १० बुँदे सहमति लत्याएर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको आरोप लगाएका छन्। ढिलो वा चाँडो नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्ने भुसालले बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै भुसालले एकीकृत समाजवादीका अध्यक्ष नेपालको आलोचना गरेका हुन्।
‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’, भुसालले भनेका छन्।
नेपालले दोहोरो नीति लिएको भुसालको भनाइ छ। प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याउँदा नेपालले विरोध गरेको तर पछि २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने अध्यादेशबाट पार्टी फुटाएको भुसालको भनाइ छ।
‘२० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन,’ भुसालले फेसबुकमा लेखेका छन्, ‘ढिलो वा चाँडो, माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ।’
माधव नेपाल एमालेमा हुँदा भुसाल उनीनिकट थिए। माधव एमालेमै हुँदा पार्टीका आन्तरिक समस्या समाधान गरेर जाने भन्दै गत वर्ष आजैका दिन (असार २७ मा) कार्यदलले १० बुँदे सहमति गरेको थियो। जसलाई नेपालले मानेनन्। पछि नेपालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोले।
तर, एमालेमा रहँदा नेपाललाई साथ दिएका भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, अमृतकुमार बोहरालगायतका नेताहरूले पार्टी विभाजनमा उनलाई साथ दिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।